कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

काठमाडौं, मंसिर ८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् ।

एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए । त्यस्तै ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ ।

‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्