आज प्रधानन्यायाधीशले नै तोके पेसी, राजपत्रमा सूचना प्रकाशन नहुँदा गोलाप्रथाको मिति धकेलियो
काठमाडौँ , ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि पनि पेसी तोकेका छन् । उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् ।
सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।
गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकमा गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन ।
नियमावली संशोधन राजपत्रमा प्रकाशन भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रथा कार्यान्वयनमा लैजाने गरी निर्णय भएको र राजपत्रमा प्रकाशन भएलगत्तै फुलकोर्ट बस्ने प्रवक्ता बाबुराम दाहालले बताए ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार बिहानै कानुन मन्त्रालयमार्फत् संशोधित नियमावली मुद्रण विभागमा पठाएको थियो । तर,मुद्रण विभागले भने सोमबार बिहानसम्म पनि संशोधित नियमावली प्रकाशन गरेको छैन ।
मुद्रण विभागका अनुसार संशोधित नियमावली प्रकाशनको काम अन्तिम चरणमा पुगेको र सोमबार साँझसम्म प्रकाशन हुने तयारीमा छ । विभागले संशोधित नियमावली प्रकाशनमा ल्याएलगत्तै सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले गोलाप्रथा लागू गर्ने दिन तोकेर निर्णय गर्ने र त्यसलगत्तै कार्यान्वयनमा आउने भएको छ ।









प्रतिक्रिया दिनुहोस्