प्रधानमन्त्रीले बाह्य लगानीको टेलिभिजन उद्घाटन गर्नु कानुनविपरीत : प्रवक्ता ज्ञवाली
काठमाडौं, मंसिर ५ । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानलको उद्घाटन गरेर कानुनविपरीत काम गरेको टिप्पणी गरेका छन्।
आइतबार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा ज्ञवालीले विदेशी लगानीमा खुलेका टेलिभिजनको उद्घाटनको विषयमा आलोचना गरेका हुन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको कानुनले सञ्चारमाध्यमहरूमा बाह्य लगानी निषेध गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले ती टेलिभिजन च्यानलको उद्घाटन गर्नुको कारणबारे प्रश्न गरे। गत शुक्रबार योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए।
ज्ञवालीले ती च्यानल नेपालको कानुनविपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रतिक्रियासमेत दिएका छन्। ‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ। यो अहिले कुनै व्यक्तिविशेषलाई, संस्थाविशेषलाई लक्षित गरेर होइन। खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरू विभिन्न क्षेत्रहरू सञ्चारमाध्यमहरूमा बाह्य लगानीलाई पूर्ण रूपले निषेध गरिएको छ। अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो, त्यो हामीले बुझेका छैनौँ,’ ज्ञवालीले भने।















प्रतिक्रिया दिनुहोस्