बुद्ध एयरले दुर्गममा उडान भर्न ८ नयाँ जहाज थप्दै
काठमाडौं, मंसिर ५ । निजी क्षेत्रको अग्रणी बुद्ध एयरलाइन्सले ८ नयाँ जहाज थप्ने भएको छ। दुर्गमलाई सुगम बनाउने योजना अन्तर्गत नयाँ जहाज थप गर्न लागिएको एयरलाइन्सले जनाएको छ। बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा सुचारु गर्ने भएको छ।
नयाँ जहाजको खरिद तयारीका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत ट्वीनअटर विमान निर्मातासँग छलफल गरेका छन्।
‘प्रबन्ध निर्देशक बस्नेत ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता भएको छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने।
हाल मुख्य सहरमा उडान गरिरहेको बुद्धले नयाँ जहाजले दुर्गममा उडान गर्ने जनाएको छ। दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाएर जहाजले उडान गर्ने छ।
सूचना अधिकारी कर्णले २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान भर्ने जनाएका छन्।बुद्ध एयरले सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ। बुद्धले अबको ५ वर्षसम्ममा ८ जहाजले दुर्गममा उडान भर्ने जनाएको छ।
मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ। पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन्।
हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन्। बुद्धसँग सबैभन्दा बढी १० एटीआर ७२ जहाज रहेका छन्। एटीआर ७२ सन् २०१० देखि नेपालमा बुद्धले उडान शुरु गरेको हो।
बुद्ध एयरसँग ३ वटा एटीआर ४२ जहाज छन्। एटीआर ४२ मा ४७ जनासम्म बोक्न सक्छन्। त्यस्तै बुद्ध एयरले बिचक्राफ्ट १९०० डी जहाज उडान गर्दै आएको छ। २ वटा ब्रिचक्राफ्ट रहेको जहाजमा १९ सिटे रहेका छन्।
प्रतिक्रिया दिनुहोस्