कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको पनि राजीनामा

काठमाडौँ , मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरतमा होमीएका कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा माग गरेका छन् ।

सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।

प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । डिउटीमा खटिएका डीएसपीले आफूहरूविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरूले गृहमन्त्री समेतको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलित छन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको हो । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एसोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आइतबार भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्