एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

काठमाडौं, मंसिर २ । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने बताउनुभएको हो । र्‍याली यही मङ्सिर ७ गते हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न ¥याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले जानकारी दिए । मुख्यगरी पूर्व–पश्चिम÷उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताउनुभयो । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्