सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड
काठमाडौं, मंसिर १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, ‘सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।’
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रममा सहभागी हुन आएको अध्यक्ष दाहालले जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।
उनले भने, ‘आशा गरौं, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं ।’
उनले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए । सरकारलाई सहयोग गर्न गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्