राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, सत्यमोहन जोशीलाई दिइयो पहिलो कपी

सरकारले बुधबारदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काले पहिलो ई-पासपोर्ट (विद्युतीय राहदानी) त्रिपुरेश्वरस्थित राहदानी विभागमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को ठाउँमा सरकारले ई-पासपोर्ट ल्याएको हो। यो पासपोर्ट बनाउन बुधबारबाटै अनलाइन बुकिङ खोलिएको कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।उनले अबको केही दिनमै सर्वसाधारणलाई पनि ई-पासपोर्ट दिइने जानकारी दिएका छन्।

सरकारले तत्कालै मेसिन रिडेबल पासपोर्टलाई तत्कालै विस्थापित गर्ने योजना भने ल्याएको छैन। दुवै पासपोर्ट वितरण जारी रहने उनले बताएका छन्। ई-पासपोर्टमा देखिने समस्या हल भएपछि मात्रै मेसिन रिडेबल पासपोर्ट बन्द गर्ने योजना सरकारले बनाएको छ।

यता जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।

यस्तै  परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे।

‘पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ’, उनले भने।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे. केही समस्या भए तुरून्त जानकारी गराउनसमेत मन्त्री खड्काले आग्रह गरे।

त्यसैगरि राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले पनि हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताए। संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उनले उल्लेख गरे।

अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्