न्यायालयको समस्या अदालतबाटै समाधान होस् : प्रचण्ड

काठमाडौं, मंसिर १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस् भन्ने चाहेको बताएका छन् ।

प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने मनसाय राखेको बताएका हुन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएका हुन् । प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै देशको सर्वोच्च संवैधानिक निकाय सर्वोच्चको विवाद सर्वोच्चबाटै सक्दो चाडो समाधान हुने विश्वास व्यक्त गरे ।

प्रचण्डलाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार सार्वजनिक बिदा दिइएपछि आलोचना भएको छ ।

मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्