ग्यास चुल्हो किन बाल्ने ? हामीसँग बिजुली नै फालाफाल छ: प्रधानमन्त्री देउवा
काठमाडौं, कातिक ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको उनको भनाइ रहेको थियो ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिदैं उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।
उनले भने, ‘हामीले किन यो ग्यासको चुल्हो बाल्नेरु हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुनसक्छ। हामी नेपालभरी नै विस्तार विस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ।’
यस्तै कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन्।
उनले भनिन्, ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ। मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन्। विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्