गठबन्धनमा आवद्ध पाँच दलको बैठक बस्दै , न्यायालय विवादबारे छलफल हुने

काठमाडौँ, कातिक ३० । सत्तारूढ गठबन्धनमा आवद्ध पाँच दलबीचको बैठक बस्दै छ ।आपसी राजनीतिक समन्वयका लागि गठित समितिको पहिलो बैठक बस्न लागेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाएका हुन् । पौडेल समितिका संयोजक हुन् ।

बैठक मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन सम्बद्ध दलका नेताहरु सहभागी हुनेछन् ।

समन्वय गठन र कार्यक्षेत्रबारे सत्तारुढ दलहरुभित्र एकमत छैन । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समन्वय समितिको गठन र कार्यक्षेत्रबारे नै प्रश्न उठेको थियो । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा देउवाले समन्वय समिति राष्ट्रिय सभा सदस्यको निर्वाचनकै लागि बनाइएको जवाफ दिएका थिए ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा छन् । समन्वय समितिमा पाँच दलका २–२ जना नेताहरु सम्मिलित छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर तनाव उत्पन्न भइरहेका बेला समितिका संयोजक पौडेलले त्यसबारे सत्तारुढ गठबन्धन र सरकारले धारणा बनाएर निकास दिनुपर्ने बताउदै आएका छन् । शनिबार बसेको आफुनिकटका नेताहरुसँगको बैठकमा पौडेलले त्यसबारे समन्वय समितिमा छलफल गर्ने बताएका थिए ।

तर, सभापति एवम् प्रधानमन्त्री देउवा भने न्यायालयका विषयमा अहिले पार्टी, गठबन्धन वा सरकारले बोल्न नहुने बताउँदै आएका छन् । कांग्रेस बैठकमा नेताहरुले अदालतको शुद्धिकरणका लागि पार्टीले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिएपनि देउवाले त्यसलाई एजेण्डामै समेटेनन् ।

 

प्रतिक्रिया दिनुहोस्