विप्लवद्वारा सडकमा टायर बालेर प्रदर्शन, काठमाडौंबाट १४ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कातिक ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल बन्दमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपा थप १४ कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन्।सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिभिल मल अगाडिबाट विप्लवका ८ जना कार्यकर्ता पक्राउ परेका छन्।त्यसैगरी मंगलबार बिहान महाराजगन्जबाट ३ जना र साँखुबाट थप ३ जनालाई पक्राउ गरिएको बस्नेतले बताएका छन्।

बिहान केही बेर बन्दको प्रभाव परे पनि दिउँसो हुँदै गएपछि राजधानीका सडकमा सवारीसाधन चल्ने क्रम बढेको छ।नेपाल बन्दको प्रभाव काठमाडौँमा समान्य परेको छ। काठमाडौं उपत्यका बाहिरका केही स्थानमा बन्दको प्रभाव देखिएको छ।

पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको गरेको थियो।

सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको बस्नेतले नेपालखबरलाई बताएका छन्। उता कपिलबस्तुमा पनि बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपाका १८ कार्यकर्ता पक्राउ परेका छन्।

जिल्लाको तौलिहवा, पिपरा, गोरुसिङ्गे र चन्द्रौटाबाट उनीहरु पक्राउ परेका हुन्।विप्लव नेकपाका जिल्ला सेक्रेटरी कमल केसीसहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

बन्द गराउने क्रममा तोडफोड प्रयास गर्नेहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।  बन्दकर्ताहरुले चन्द्रौटामा बसको सिसा फोडिदिएका छन्। जिल्लामा अन्य अप्रिय घटना नभएको भण्डारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्