कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान
काठमाडौँ , २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।
प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् । तर राणा राजीनामा नदिने अडानमा छन् । उनले सोमबार जारी गरेको विज्ञप्तिमा पनि राजीनामाको प्रसंग उल्लेख छैन ।
प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’









प्रतिक्रिया दिनुहोस्