न्यायालयभित्र राजनीतिक दलले हस्तक्षेप गर्न उचित हुँदैन : अध्यक्ष यादव

काठमाडौं, २७ कात्तिक । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने बताए ।

उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको उल्लेख गर्दैै आफूभित्र देखिएको समस्या समाधान गर्न न्यायालय आफैँ सक्षम रहेको धारणा राखे ।

‘न्यायालयको काम राजनीतिक दलहरूले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन ? त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान् अधिवक्ता, विद्वान् न्यायाधीशहरू हुनुहुन्छ। उहाँहरू आफैँ निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिककर्मीहरूले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन। त्यसकारणले आ–आफ्नो दायराभित्र रहेर समस्यालाई हल गर्नुपर्छ। त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ। त्यसलाई राजनीतिक रूपले हस्तक्षेप गर्न उचित हुँदैन। कहीँ पनि दुनियाँमा यस्तो चलन छैन,’ उनले भने ।

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान दोहोर्‍याए । उनले सत्तारुढ दलहरूबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए ।

प्रतिक्रिया दिनुहोस्