प्रधानमन्त्री देउवाले भने – न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न मिल्दैन

काठमाडौँ , कातिक २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । देउवाले आफूनिकट नेता र मन्त्रीहरुसँग न्यायालयको विवादबारे परामर्श गरेका छन् । त्यसक्रममा नेताहरुसँग देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

देउवानिकट एक नेताका अनुसार देउवाले बिहीबार बेलुका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरुसँग छलफल गरेका थिए । देउवाले बिहीबारै गृहमन्त्री बालकृष्ण खाँणसँग पनि छलफल गरेका थिए । सो क्रममा देउवाले न्यायपालिकाभित्रको समस्या त्यहीँबाट समाधान हुनुपर्ने धारणा राखेका हुन् ।

छलफलका क्रममा सरकारका मन्त्रीहरुले भने बारको आन्दोलनका कारण न्यायालयको सेवा प्रभावित भएको र सरकारले आफ्नो धारणा प्रष्ट नगर्दा त्यसको गलत सन्देश भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बार एसोसिएसनले गरेको आन्दोलनका कारण न्यायालय अहिले ठप्प छ । बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा कुनै सुनुवाई भएको छैन । प्रधानमन्त्रीसँगको भेटमा मन्त्रीहरुले विभिन्न व्यक्तिहरुले न्यायापालिकाको विवादका विषयमा सरकारले हस्तक्षेप गर्नुपर्ने आवाज उठाइरहेको विषय समेत उठाएका थिए ।

त्यसक्रममा देउवाले गृहमन्त्री खाँणलाई कानुन व्यवसायीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप नहुने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा प्रकरणले सर्वोच्च अदालत अस्तव्यस्त बनेको छ ।

बीस दिनदेखि सर्वोच्च अदालतमा नागरिकका मुद्दाको सुनुवाई हुन नसकेको छैन भने सर्वोच्च परिसर भिडन्तस्थलका रुपमा परिणत हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्