डब्लूएचओले भन्यो – युरोप बाहेक सबैतिर कोरोना संक्रमण घट्दैछ

काठमाडौं, कातिक २६ । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले बुधबारको रिपोर्टमा पछिल्लो हप्ता युरोपमा कोभिडबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।यसरी कोभिड मुत्यु दर अझै बढिरहेको यो एक मात्र क्षेत्र भएको रिपपोर्टमा उल्लेख छ ।

यसबाहेक अन्य सबै क्षेत्रमा भाइरसको संक्रमण घटिरहेको बताइएको छ । तर युरोपमा चाहिँ छैठौँ हप्ता लगातार कोरोना बढिरहेको अवस्था छ ।

महामारी सम्बन्धी साप्ताहिक रिपोर्टमा संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीले अघिल्लो हप्ता मात्र विश्वव्यापी रुपमा ३१ लाख नयाँ संक्रमित थपिएका छन् जुन त्यस अगाडिको भन्दा १ प्रतिशत वृद्धि हो । यसमा दुई तिहाइ बढी नयाँ संक्रमण युरोपेली क्षेत्रबाट रहेको पाइएको हो ।

साप्ताहिक कोभिड मृत्युदरमा युरोपेली क्षेत्र बाहेक सबै ठाउँमा ४ प्रतिशत गिरावट आएको रिपोर्टमा उल्लेख छ । डब्लूएचओले युरोपेली क्षेत्रमा समावेश गरेका ६१ मुलुकहरु मध्येमा गत हप्ता १० प्रतिशत नयाँ संक्रमित थपिएको छ ।

उता अमेरिकामा पनि नयाँ संक्रमितको दर ५ प्रतिशतले घटेको छ भने मृत्यु दरमा समेत १४ प्रतिशत गिरावट आएको छ ।

मंगलबार फार्मा कम्पनी फाइजरले अमेरिकी खाद्य तथा औषध विभागलाई सबै वयस्कहरुका लागि बुस्टर डोज लगाउने सम्बन्धी स्वीकृति दिन माग गरेको थियो । तर डब्लूएचओले यो वर्ष अन्त्य नहुन्जेल बुस्टर डोज नलगाउन सुझाव दिँदै आएको छ । तापनि हालसम्म ६० बढी देशहरले बुस्टर डोज लगाउन सुरु गरिसकेका छन् ।

दक्षिणपूर्वी एसिया र अफ्रिकामा पनि कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक तिहाइले घटेको बताइएको छ ।

यस्तोमा डब्लूएचओका युरोपेली निर्देशक डाक्टर हान क्लगले एकपटक फेरि युरोप कोभिड महामारीको एपिसेन्टरमा परिणत भएको बताए । साथै उनले तत्कालै उचित कदम नउठाएमा फेब्रुअरीसम्म थप पाँच लाख मानिसहरुको मृत्यु हुने चेतावनी समेत दिएका छन् । एपी न्युज

प्रतिक्रिया दिनुहोस्