बारले आज कुनै मुद्दामा बहस नगर्ने, आइतबार पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउने
काठमाडौं, कातिक २६ । कानुन व्यवसायीहरूले आज शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन्। बिहीबार नेपाल बार एसोसिएसनले गरेको धर्नामा प्रहरीले दमन गरेको विरोधमा आज उनीहरूले कुनै पनि मुद्दामाथि बहस नगर्ने निर्णय गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन् । हिजोको धर्नामा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएको भन्दै नेपाल बारले हिजो नै बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने निर्णय गरेको थियो भने प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।
यस कारण आज बिहानै सर्वोच्चमा तनावको स्थीति सिर्जना भयो । बाक्लो संख्यामा सुरक्षाकर्मी पनि खटायो । केहि धकेलाधकेल पनि भयो भने धेरै पक्राउ पनि परेका छन् । नेपाल बार एशोसिएसनविरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा तारा बरालसहित ३ जना महिला र दुई पुरुष छन् ।
यसैगरी बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएको छ। त्यसका लागि सर्वोच्चको मूल गेटमा उनीहरूले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।











प्रतिक्रिया दिनुहोस्