प्रधानन्यायाधीशले बिचौलिया र भिजिलान्ते प्रयोग गरे : नेपाल बार
काठमाडौँ , कार्तिक २५ – नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालत परिसरको वकिलहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोमा विरोध गरेको छ । बारले विज्ञप्ति जारी गर्नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरुको आन्दोलन दबाउनका लागि बिचौलिया र भिजिलान्ते प्रयोग गरेको आरोप लगाएको छ ।
बिहीबार प्रहरी समेत प्रयोग गरी प्रधानन्यायाधीशले वकिलहरुमाथि बल प्रयोग र हातपात गरेको पनि बारको विज्ञप्तिमा उल्लेख छ ।
‘यहि २०७८ कार्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजिनामा माग गरि निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको’– बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विरोध प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट बारका पूर्व पाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानुन व्यवसायीहरु घाइते भएका थिए ।
‘प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एसोसिएसनले घोर निन्दा र भर्त्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहन्छौँ । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँछौं,’ विज्ञप्तिमा छ ।
बारले शुक्रबार एक दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च वहिष्कार गर्ने र न्यायाधीशहरुलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्