आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै
काठमाडौँ , २४ कात्तिक । टी २० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । क्रिकेट कमेन्टेटर सुशिल दोषीका अनुसार यी दुबै टिम फाइनल खेल्नका लागि हकदार छन् । त्यसैले सेमिफाइनल खेलमा पावर प्लेको खेल निर्णायक साबित हुनसक्छ ।
इंग्लिस टिमको ब्याटिङ केही उत्कृष्ट रहेको उनले बताए । ‘यो टिम एक अलग अप्रोचबाट खेल्छ र पहिलोदेखि अन्तिम बलसम्म हिटिङ गर्छ । तर न्युजिल्यान्डलाई पनि कम आँक्न सकिन्न । उसँग त्यस्ता बलर छन्, जो योजनाबद्ध रुपमा बलिङ गर्छन् र इंग्लिस ब्याट्सम्यानहरुलाई दबाबमा राख्न सक्षम छन् ।’ न्युजिल्यान्डका टेन्ट बोल्ट, टिम साउथी र इस सोधी निकै घातक बलर हुन् । त्यस्तै, मार्टिन गुप्टिल र केन विलियमसनजस्ता सदाबहार ब्याट्सम्यान पनि न्युजिल्यान्डमा छन् ।
यता, इङल्यान्डसँग जोस बट्लर, कप्तान इयोन मोर्गान, मोइन अलीसहित एक से एक उत्कृष्ट ब्याट्सम्यान छन् । बट्लर जारी प्रतियोगितामा निकै फर्ममा छन् । उनले जारी प्रतियोगिताका ५ खेलमा सर्वाधिक १३ छक्का लगाएका छन् । सर्वाधिक रन बनाउनेको सूचीमा २ सय ४० रनसहित पाकिस्तानका बाबर आजमपछि दोस्रो स्थानमा छन् । उनले श्रीलंकाविरुद्ध शतक समेत लगाएका थिए ।
विश्वकपअघि नै इङल्यान्डका केही महत्वपूर्ण खेलाडी घाइते भए । बेन स्टोक्स र जोफ्रा आर्चर यस सूचीमा परेर विश्वकप गुमाउन बाध्य खेलाडी हुन् । औँलामा चोट लागेका स्टोक्सले मानसिक आराम आवश्यक परेको भन्दै केही समय क्रिकेटबाट विश्राम लिएका छन् । यता, आर्चरको कुर्कुच्चामा चोट लागेको थियो ।
तर यी दुई स्टार खेलाडीको अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई पछि पारेर समूह समूहबाट विजेताका रुपमा सेमिफाइनल यात्रा गर्यो । तर, अझै पनि इङ्ग्ल्यान्डले चैनको सास फेर्न पाएको छैन । किनकि, दक्षिण अफ्रिका विरुद्धको समूह चरणको अन्तिम खेलमा जासोन रोय घाइते भए । निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका रोय आफ्नो टिममा निर्विकल्पजस्तै थिए । उनको अभाव सायद, अब जोन्नी वारिष्टोले पूर्ति गर्ने प्रयास गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्