विराटनगर कारागारमा झडप, चौकीदार गुरूङसहित ६ घाइते
काठमाडौं, कातिक २३ । विराटनगर कारागारमा झडप भएको छ । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको हुन पुगेको हो ।
आज बिहान १० बजे कारागार भित्र कैदीबन्दीबीच दोहोरो झडप भएको बताएको छ । झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्।
घाइतेलाई सामान्य चोटपटक लागेको छ । उनीहरुको उपचारको लागि कोशी अस्पताल पठाएको जेलर रामप्रसाद पोखरेलले बताए ।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै यहाँका कैदीबन्दी आन्दोलित भएका थिए। चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए।
त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ। कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ। यता कारागार भित्रको माहोल अहिले भने शान्त भएको जेलर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्