छठ पर्व : दुलहीझैँ सिँगारिँदै जनकपुरधामका तलाउ
काठमाडौँ , २२ कात्तिक । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ ।
छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।
जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्डलगायतका तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिको अग्रसरतामा जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबर सिंगार्नमा व्यस्त देखिएका छन् ।
अहिले जनकपुरधाम सहित तराई–मधेसका मुख्य बजारहरुमा किनमेलका लागि निकै चहलपहल बढेको छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती, बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ । यो समय माटो तथा बाँसका सामग्री अत्याधिक बिक्री भइरहेको छ । छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट जस्ता सामाग्रीहरु समावेश गरिने छ ।















प्रतिक्रिया दिनुहोस्