टी–२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश
काठमाडौँ , २२ कात्तिक। युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।
स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एकरएक विकेट लिएका थिए ।
पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै रहेको छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ । भारत र नामिबियाको अन्तिक खेल आज हुँदैछ ।
सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्नेछ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।
––
प्रतिक्रिया दिनुहोस्