सल्यान बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत, चालक फरार

काठमाडौं , कातिक २१ । सल्यान कपुरकोट-५ खारखोलामा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये १० जनाको शवको सनाखत भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाअनुसार सनाखत हुनेमा घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी रहेका छन् ।

यसैगरी, सल्यान शारदा नगरपालिका वडा नम्बर १२ की ५३ वर्षीया पर्भा चलाउने, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउलेको शवको पनि सनाखत भएको छ । यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वलीको शव पनि सनाखत भएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाकाअनुसार १० जना महिला र दुईजना पुरुषको मृत्यु भएको हो । घाइते १८ जनामध्ये गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । डीएसपी थापाकाअनुसार बस चालक अझै फरार छन् ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे दुर्घटनामा परेको थियो ।

चालकले तीव्र गतिमा चलाउँदा बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्