पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक हो: अध्यक्ष ओली

काठमाडौं , कातिक २१ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको भक्षकको रुपमा संज्ञा दिएका छन् ।

एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्यमान्यता होइन सत्ता चाहिएको छ,’ देश होइन।’ उनले भ्रमहरुका विरुद्ध लड्ने जाँगरण पैदा गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘प्रतिगामी परमादेश अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौं । तर, लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं।’

ओलीले भने, ‘आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले राज्यको प्रबन्ध गरेको हुन्छ । यस्तै, गलत चेतना विस्तार गर्न विशेष पण्डित तयार गरेको हुन्छ।

ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको बताए । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको आरोप लगाए ।

आयोजित कार्यक्रममा उनले भने, ‘हामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो । सेना पुलिस प्रयोग हुन पाएन । अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो ।’

ओलीले त्यसरी राज्यसत्ताको गलत प्रयोग भएको भनाइ राखेका थिए । उनले धर्म, संस्कृति, कानुन र नियम बनाएर त्यसरी प्रयोग गरिएको भनाइ राखे ।

सत्तारुढ गठबन्धनलाई लोकतन्त्रविरोधी भएको भन्दै ओलीले आक्रोश पोखेका छन् । उनले भने, ‘पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षक हुन्, लोकतन्त्र भक्षी हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ देश होइन ।’

प्रतिक्रिया दिनुहोस्