प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन तयारी गर्दै नेपाल बार
काठमाडौं, कातिक २१ । नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ।
तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको हो।नेपाल बारले आइतबार सर्वोच्च अदालत बन्द रहेपनि आन्दोलनका कार्यक्रम भने निरन्तर रहेको जनाएको छ। नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार दोस्रो चरणको तयारी स्वरुप आईतबार र सोमबार देशभरका इकाइहरुसँग अन्तर्क्रिया जारी राखेको छ।
आज र भोली छलफल गरेर नयाँ दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले बताइन् ।
बारले नयाँ कार्यक्रम घोषणा नभएसम्म यसअघिकै धर्नाको कार्यक्रम निरन्तर रहने जनाएको छ। बारले कार्तिक १२ मा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै ५ दिनको अल्टिमेटम सहित सर्वोच्च परिसरमा धर्नाको दिन सुरु गरेको थियो। बारले दोस्रो चरणको आन्दोलन थप सशक्त हुने बताएको छ।
बारका पदाधिकारीका अनुसार दोस्रो चरणमा प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउनेसम्मका कार्यक्रमबारे छलफल भईरहेको छ। यसको तयारी स्वरुप बारले देशभर रहेका ९० इकाइसँग अन्तर्क्रिया गरिरहेको छ। सर्वोच्च अदालतमा आजसम्म तिहार बिदाको तालिका रहेको छ। तर,बारले भने तिहार विदामा पनि आन्दोलनलाई निरन्तरता दिइएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्