स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कातिक २० ।   प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहार पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गर्नुभएको छ ।

सन्देशमा कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ । प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन सक्दैन भन्नुभएको छ ।

उहाँले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्