ललितपुरमा ग्याँस सिलिण्डर विष्फोट : एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
काठमाडौं, कातिक २० । । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्याँस सिलिण्डर विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मंगलबजारस्थित प्रहरी प्रभागका इञ्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार ग्याँस सिलिण्डर विष्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको हो । उनका अनुसार निरज ताम्राकारको घरमा यो दुर्घटना भएको हो । मृतक उनका बुबा, दिदी, श्रीमती र छोरा हुन् ।
घटनामा दुई जना घाइते भएका छन् । प्रभागका असई वीरेन्द्र साहका अनुसार घरधनी निरज र सिर्जना ताम्राकार घाइते भएका हुन् । उनीहरूको उपचार पाटन अस्पतालमा भइरहेको छ । ‘सिर्जना घरधनी निरजको को पर्छिन् भन्ने अहिले खुलिसकेको छैन’, उनले भने ।
सबै शव पनि पाटन अस्पतालमै लगिएको छ ।
‘भान्सामा खाना पकाइरहेका बेला सिलिण्डर पड्किएको रहेछ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘चारतले भवनमा आगलागी पनि भएको थियो । तर अहिले नियन्त्रणमा आइसकेको छ ।’
उनका अनुसार घटना शुक्रबार साँझ ७ बजेतिर भएको हो । तर प्रहरीलाई ८ बजे जानकारी आएको थियो । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१२ अन्तर्गत चक्रबहिल भन्ने स्थान (जुन मंगलबजार क्षेत्रमा पर्छ) मा रहेको ढुंगामाटोले बनेको पुरानो चारतले घरमा उक्त दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्