प्रचण्डको स्पष्टीकरण : एमसीसी पास गर्न अमेरिकालाई गोप्य चिठी पठाएका छैनौँ

कातिक १९ ।  कात्तिक-  १९नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने सहमतिसहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका छन्।

शुक्रबार खुमलटारस्थित निवासमा देउसी खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

‘शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौँ भनिदिनुभएछ, त्यसले तरंग पैदा भएछ। साथीहरुलाई जवाफ दिनुपरेको छ’, उनले भने, ‘तर पछि शेरबहादुरजीले मैले त्यस्तो कहाँ भनेको छु र? भन्नु भयो। हामीले त्यस्तो चिठी पठाएका छैनौँ।’

दाहालले दुईजनाले पास गर्ने नभइ एमसीसीका लागि राष्ट्रिय सहमति जुटाउने व्यहोराको चिठी पठाएको बताए।

‘हामी दुईजनाले एमसीसी पास गर्न राष्ट्रिय रुपमा सहमति गर्छौँ भनेर चिठी पठाएका हौँ, पास गर्न तयार छौ भनेका छैनौँ’, उनले भने, ‘अमेरिका र बेलायत या अन्य देशले दिने सहयोग नलिने भन्ने त हुँदैन। तर एमसीसीमा जनस्तरमै विवाद देखिएपछि यसको निरुपणपछि मात्रै पास गरौँ भन्ने हो।’

अध्यक्ष दाहालले यसअघि सन् २०१७ मा एमसीसीबारे सहमति हुँदा संसदमा लगेर अनुमोदन गर्ने केही कुरा नभएको पनि बताए।

‘देउवाजी र हामी नै सरकारमा हुँदा तत्कालीन अर्थमन्त्री (ज्ञानेन्द्रबहादुर कार्की) ले सहमति गर्दा संसदबाट अनुमोदन गर्ने प्रावधान नै थिएन’, उनले भने, ‘त्यतिबेला हामी पनि सरकारका थियौँ। त्यो सम्झौतामा कानुन सरह लैजाने भन्ने नै थिएन। पछि बीचमा संसदबाट अनुमोदन गर्ने भन्ने प्रावधान घुसाएकाले विवाद भएको हो।’

दाहालले पछि घुसाइएको कुराको समाधान नगरी एमसीसी पास गर्न नसकिने पनि बताए। ‘पछि घुसाइएको कुरालाई सम्बोधन नगरि एमसीसी पारित गर्न सकिँदैन’, उनले भने, ‘हामी त्यसलाई संशोधन गराएर चाँडो भन्दा चाँडो पास गर्न चाहन्छौँ।’

प्रतिक्रिया दिनुहोस्