महँगियो तिहार : भाइमसला, झिलीमिली बत्ती र फूलमालाको मूल्य बढ्यो
काठमाडौँ , १७ कात्तिक । तिहारमा प्रयोग हुने सबैजसो वस्तु महँगिएको छ । कोरोना महामारी प्रभाव कम हुँदै जाँदा नागरिकहरू यो तिहार अघिल्लो वर्षभन्दा राम्ररी मनाउने योजनामा छन् । यसैकारण माग बढेपछि सबैजसो वस्तुको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल–चीन नाकामा समस्या, कच्चा पदार्थ अभाव र माग बढेपछि तिहारमा सबैभन्दा बढी कारोबार हुने भाइमसला, फूलमाला र विद्युतीय (झिलीमिली) बत्तीको मूल्य बढेको हो ।
कोरोना महामारीका कारणले माग नहुँदा गत वर्ष घटेको भाइमसलाको मूल्य यो वर्ष २५ प्रतिशतसम्म बढेको छ । नेपाल खुद्रा व्यवसायी महासंघका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष माग बढेपछि मूल्य पनि बढेको हो । भाइमसलामा प्रयोग हुने सबैजसो वस्तुको मूल्य कम्तिमा २५ प्रतिशतले बढेको छ ।
भाइमसलामा काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर, दालचिनी, मिश्री र मखना लगायतका सुख्खा फलफूल मिसाइन्छ । यी सबै प्रकारका फलफूलको मूल्य उकालो लागेको संघले बताएको छ ।
यो वर्ष काजूको थोक मूल्य प्रतिकिलो १५ सय, सुकुमेल २९ सय, ल्वांङ १३ सय, बदाम १२ सय, नरिवल ५००, किसमिस ४२५, छोकडा १७५ र अन्जिर प्रतिकिलो १८ सय रुपैयाँ छ । यस्तै, मखना एक हजार, अलैँची १२ सय, खोरपानी एक हजार रुपैयाँ, मिश्री २००, ओखर ७००, पेस्ता १६५० र दालचिनी ५०० रुपैयाँ प्रतिकिलो छ । यी सबै वस्तुको मूल्य अहिलेभन्दा गत वर्ष २५ प्रतिशत कम थियो ।











प्रतिक्रिया दिनुहोस्