राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : अर्थमन्त्री शर्मा
काठमाडौँ , १६ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्मा नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै थिए ।
निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भएमात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनले भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’
मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह पनि गरे । समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने बताए ।
कुनै पनि काम गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउँदै उनले त्यसो नभए नेता बाटोबाट बहकिने उल्लेख गरे । उनले भने, ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन ।’
स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्