गृहमन्त्री र बालुवाटारको दोहोरो मारमा आईजीपी!

काठमाडौँ , १५ कात्तिक । प्रहरी प्रधान कार्यालय र त्यहाँका कमाण्डर प्रहरी महानिरीक्षक (आईजीपी) गृह मन्त्रालयको मातहतमा हुन्छन् ।

गृहमन्त्री र गृहमन्त्रालयको आदेशमा चल्नुपर्ने आईजीपी अहिले दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । एकातर्फ बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरुबाट विभिन्न प्रहरी अधिकृतहरुको सरुवा गरिदिनुपर्ने दबाव आउने, अर्कोतर्फ गृहमन्त्रालयबाट बेग्लै निर्देशन आउने गरेका कारण आइजीपी शैलेश थापा क्षेत्री तनावमा परेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी)शैलेश थापा क्षेत्रीले गत असोज ४ गते ट्राफिक प्रहरी कार्यालय बाँकेको इञ्चार्जमा इन्स्पेक्टर ऐन बहादुर मल्ललाई काज सरुवा गरे । त्यहाँ कार्यरत राजु भण्डारीलाई अपराध अनुसन्धान विभागमा ल्याएर मल्ललाई बाँके पठाइएको थियो ।

दुई इन्स्पेक्टरहरुको यसरी अदली–बदली गरेको थाहा पाएपछि गृहमन्त्री वालकृष्ण खाण आईजीपी क्षेत्रीसँग रिसाए । गृहमन्त्रीले आईजीपीलाई सोधे, ‘कसको आदेशले बाँके ट्राफिकमा इन्सपेक्टर पठाउनुभो आईजीपी क्षेत्रीले जवाफ दिए, ‘सचिवज्यूको आदेशले काज सरुवा गरेको हुँ ।’

कुरो बुझ्दै जाँदा गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री पत्नी आरजु देउवाले सोझै आदेश गरेर इन्सपेक्टर मल्ललाई बाँके ट्राफिकमा काज पठाउन आदेश गरेको पत्तो लाग्यो । तर, यसबारे गृहमन्त्री बेखबर थिए ।

प्रधानमन्त्री पत्नीकै आदेशले सरुवा गरिएको भएता पनि गृहमन्त्री खाणले सो निर्णय कार्यान्वयन नगर्न आइजीपीलाई आदेश दिए । केही दिन सरुवा रोकियो । तर, आरजु देउवाको दोस्रो आदेशपछि इन्सपेक्टर मल्ल बाँके गए । उनी प्रहरी प्रधान कार्यालयको युएन शाखामा कार्यरत थिए ।

कात्तिक ९ मा काठमाडौं प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई गृहमन्त्री खाणले त्यहाँबाट सरुवा गर्ने निर्णय गरे । सिंहलाई हटाउन खाणको आदेशमा आईजीपी क्षेत्रीले गृहमन्त्रालयमा प्रस्ताव लगेका थिए । सिंहलाई हटाएर अर्का एसएसपी सुदीप गिरीलाई काठमाडौंको प्रहरी प्रमुख बनाउने निर्णय पनि भयो । तर, सो निर्णय २४ घण्टा नबित्दै बदर गर्नुपर्ने अवस्था आयो र कार्यान्वयनमा गएन ।

काज सरुवाको निर्णय गरेको रात नै बालुवाटारबाट एसएसपी सरुवाको पत्र सार्वजनिक नगर्न आईजीपीलाई आदेश आयो । प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाणलाई बोलाएर सो निर्णय कार्यान्वयन नगर्नु भनेपछि काठमाडौं प्रहरी प्रमुखको सरुवा रोकियो ।

प्रतिक्रिया दिनुहोस्