सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग ‘वार्ता’ गर्ने , गरे यस्तो निर्णय
काठमाडौं, कातिक १४ । बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो ।
छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।
यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ ।
बनाए तीन सदस्यीय टोली
आन्दोलनरत न्यायाधीशहरूले तीन सदस्यीय टोली बनाएका छन्।कसैले आन्दोलन गर्दैमा पदबाट नबाहिरिने अड्डी कसेका जबरासँग वार्ताका लागि न्यायाधीशहरूले तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्।
उक्त टोलीमा आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मा रहेका छन्।
वार्ता टोली गठनसँगै प्रधानन्यायाधीश र आन्दोलनरत न्यायाधीशहरूबीच फेरि छलफल सुरु भएको छ। अहिले दुई पक्षबीच सर्वोच्चमा छलफल चलिरहेको छ।
सर्वोच्चमा चलेको आन्दोलनका कारण गत सोमबारदेखि कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन।
सुनुवाइ नै रोकेर आन्दोलन गरेपछि न्यायाधीशहरूमाथि पनि अन्य विकल्प खोजेर इजलासमा जान दबाब बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्