विवादमा प्रधानन्यायाधीश: जबराले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी
काठमाडौँ , कार्तिक १४ ।आजदेखि नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत प्रांगणमा धर्नामा बसेको छ ।
गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । यसैबीच सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले कानून व्यवसायीहरुको विरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताएका छन् ।
आइतबार सर्वोच्च अदालतको परिसरमा नेपाल बारको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै गरेको विरोध प्रदर्शनमा अध्यक्ष शाक्यले राजीनामा नदिए आन्दोलन थप चर्किने चेतावनी दिए ।उनले प्रधानन्यायाधीश जबराले गरेका कामहरु विधिवत नमिलेका ठाउँमा मिलाएर नलगे आन्दोलन थप चर्किने चेतावनी दिए ।
विरोध प्रदर्शनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको बताए । उनले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताउँदै न्यायपालिका विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको विरुद्धमा लागि पर्ने बताए । उनले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउन र विकृति, विसंगतिरहीत बनाउन संविधान संसोधन र दलबारेमा पनि सोच्नुपर्ने बताए ।
त्यस्तै, वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लाग विरोध नभएर प्रवृत्तिमाथिको विरोध भएको बताए । उनले न्यायपालिकाभित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बारले चरणबद्ध आन्दोलन गर्ने बताए । उनले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताए । उनले कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा पाए सह्य नहुने चेतावनी पनि दिए ।
कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि विरोध गर्नुपरेको बताए । उनले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको बताए ।
न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कात्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने ब्यानरसहित विरोध गरेका हुन् ।
बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्धरुपमा विरोध कार्यक्रम सुरु गरेको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्