थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु
काठमाडौ, कातिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १४५ जनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५६९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २२८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी १७३ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा २४ र ललितपुरमा ३१ संक्रमित थपिएका छन् ।
त्यस्तै उपत्यकामा अहिले २ हजार ३४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा १ हजार २२६, भक्तपुर जिल्लामा ५३३ र ललितपुर जिल्लामा ५८३ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार १५१ पुगेका छन् । त्यस्तै आइसीयुमा २४२ जना छन् भने देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा ७७२ जना छन् भने होम आइसोलेसनमा ९ हजार ३७९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्