राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव, निर्णय नगरी बेलायत उडे प्रधानमन्त्री

काठमाडौं, कात्तिक १२ । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको थियो ।

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसमा कुनै निर्णय गरेन । प्रधानमन्त्री देउवा निर्वाचनको मिति टुंगो नलगाई बेलायत प्रस्थान गरेका छन् । अब देउवा फर्केपछि मितिसम्बन्धी निर्णय हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,  फागुन २१ गते एकतिहाई सदस्यको पद रिक्त हुँदैछ । त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ । करिब ९० दिनको तयारी समय लाग्ने अनुमान गरेका छौं । यसै क्रममा आयोगले सरकारसँग छलफल गरेर मिति घोषणाका लागि प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्