ललितपुर महानगरमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप
काठमाडौं , कातिक १२ । कोरोनाविरुद्धको खोप अभियान चलीरहेका बेला यता ललितपुर महानगरमा भने ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ ।
महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिइने जनाएको छ । खोप कार्यक्रम कात्तिक १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ ।
दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने महानगरले जनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए ।
अब चिसो मौसम लगभग सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा तापक्रम घट्दै जान थालेको मौसमविद्हरुले बताएका छन् । चिसोले बृद्धबृद्धालाई चाडै समात्ने गनर्छ । यसबाट उनीहरुलाई निमोनियाले छिटो समात्ने हुनाले पनि खोप दिन थालीएको हो ।
प्रतिक्रिया दिनुहोस्