ओलीले आफूले आफैँलाई राजा ठान्ने गरेका रहेछन्, प्रधानमन्त्री हुँदा राजाझैं व्यवहार गरे : अध्यक्ष प्रचण्ड
काठमाडौं, कातिक १२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफू स्वयंलाई राजा ठान्ने गरेको बताएका छन्। चितवन पुगेर शुक्रबार प्रचण्डले यस्तो बताएका हुन्। बालुवाटारमा भव्य प्रधानमन्त्रीनिवास र प्रधानमन्त्रीको निजी कार्यालय बन्दै गरेको विषय जोड्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीले त त्योे दरबार जिन्दगीभर छाड्नुपर्दैन भन्ने ठानेर थाइल्यान्ड, इटली, रोमबाट महँगामहँगा सामान ल्याएर थुपारेका रहेछन्। सरकारले प्रधानमन्त्री बस्ने राम्रै ठाउँ बनाउन खोज्यो भन्न त सकियो। तर, त्यो सामान देख्दा अरू त अरू शेरबहादुर देउवाले पनि जिब्रो टोक्नुभएको छ। अब मैले यो दरबार छोड्नुपर्दैन भन्ने सोचेका रहेछन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।
जिन्दगीभर प्रधानमन्त्री हुन्छु भनी अर्बौँको सामान विदेशबाट ल्याउनेलाई जनताले चिन्नुपर्ने उनले बताए। उनले भने, ‘यो कुरा त जनतालाई थाहा हुन पर्यो । अर्बौँको सामान विदेशबाट ल्याउने र जिन्दगीभर म प्रधानमन्त्री हुन्छु भन्ने देख्ने प्रधानमन्त्रीलाई नेपाली जनताले चिन्नुपर्यो र आउने चुनावमा के सजाय दिनुपर्ने हो। जनतालाई नै फैसला गर्न दिनुपर्यो।’
साथै ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा नेकपा (एमाले) को पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् ।
त्यस्ता क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले खुलासा गरेका हुन् । अहिलेको सत्तारूढ गठबन्धनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको उनले बताए । अरू दललाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।
‘विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ । अब इमानदार कम्युनिस्टबीच एकताको झण्डा फहराइने छ’, उनले थपे, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्ने छौं ।’ आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलनका सपना पूरा हुन नसकेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका कारण पार्टी एकीकरण ९माओवादी केन्द्र र एमाले० बाट देखिएको सपना पूरा हुन नसकेको आरोप लगाएका हुन् ।















प्रतिक्रिया दिनुहोस्