आईपीएलमा लखनउ र अहमदाबादको टोली थपिए
काठमाडौँ , ९ कात्तिक । इण्डियन प्रिमियर लिग(आईपीएल) मा दुई टिम थपिएका छन्।
थपिनेमा लखनउ र अहमदावाद रहेका छन्। उनीहरू सोमबार अक्सनबाट छनोट भएका हुन्। दुबईमा भएको विशेष कार्यक्रममा यी दुई नयाँ टिमको लागि बोली लगाइएको थियो। अब आईपीएलमा टिम संख्या १० पुगेको छ।
दुई नयाँ टिमबाट आईपीएलले १२ हजार ७ सय १५ करोड भारतीय रूपैयाँ भन्दा बढी कमाउने भएको छ।
लखनऊ टिमको लागि सन्जिब गोयन्का ग्रुप (आरपीएसजी) ले ७ हजार ९० करोड भारू बोली लगायो। गोयन्का ग्रुपले यस अघि राइजिङ पुने सुपर जायन्ट्स टिम किनेको थियो। आरपीएस्जीले हाल इन्डियन सुपर लिग फुटबलमा एटलेटिको मोहुन बगानसँगै टेनिस र बक्सिङमा पनि टोली खरिद गरेको छ ।
यस्तै अहमदावादको लागि भारत बाहिरको कम्पनी सिभिसी ग्रुपले ५ हजार ६ सय २५ करोड भारू बोली लगायो। सिभीसी क्यापिटल युरोप, एसिया र अमेरिकामा आफ्नो व्यापारलाई फैलाएर बसेको छ। यसअघि यो घरानाले फर्मुला वनमा लगानी गरेको थियो भने हालै ला लिगामा पनि आफ्नो सेयर किनेको थियो। यो टिमको घरेलु मैदान विश्वको सर्वाधिक ठूलो रंगशाला नरेन्द्र मोदी स्टेडियम हुनेछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले दुई नयाँ टिमबाट करोड ७ देखि १० हजार करोड भारु सम्मको बोलि लाग्ने आशा गरेको थियो। तर कमाई १२ हजार ७ सय १५ करोड भारुभन्दा माथि हुने भएको छ। दुवै नयाँ फ्रेन्चाइजले १० वर्षको अवधिमा यो रकम तिर्नुपर्नेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) अध्यक्ष सौरभ गांगुलीले ठूलो मुल्यमा दुई फ्रेन्चाइज बिक्नु राम्रो संकेत रहेको बताए । उनले यसले क्रिकेट र आर्थिक दुवै पक्ष थप बलियो हुने बताए । उनले यस कदमसँगै घरेलु क्रिकेटरले विश्व क्रिकेटमा प्रभाव छाड्न पाउने बताए ।
आईपीएलको टिमको रेसमा ६ शहर (अहमदावाद, लखनऊ, कटक, धर्मशाला, गुवाहाटी र इन्दौर) को नाम थियो। जसले सबैभन्दा बढी बोलि लगाउनेछ त्यसैसँग आफ्नो शहर र टिम चुन्ने स्वतन्त्रता दिईएको थियो।
आईपीएलको दुई नयाँ टिम किन्ने रेसमा म्यानचेस्टर युनाइटेडको मालिक ग्लेजर परिवार, नविन जिन्दल, अडानी ग्रुप , कोटाक ग्रुप, सीविसी पार्टनर, ग्रुप एम, रणवीर सिंह र दिपिका पादुकोण जस्ता समुहहरू रेसमा थिए। अन्त्यमा गोयन्का ग्रुप र सिभिसी ग्रुपले बाजी आफ्नो पक्षमा पारे।
आईपीएलमा पहिलो पटक १० टिम सहभागी हुन् लागेका भने होइन। यसअघि सन् २०११ मा १० टिम सहभागी थिए। त्यो बेला पुने वारियर्स र कोच्ची टस्कर्सलाई समावेश गरिएको थियो। कोच्चीलाई विवादपछि एउटा सिजन पछि हटाइएको थियो। २०१४ पछि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका हुन्।
आईपीएलमा टिम संख्या थपिएसँगै नेपाली खेलाडीले पनि अवसर पाउन सक्छन्। यसअघि नेपालबाट सन्दीप लामिछानेले आइपिएल खेलिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्