जितसँगै विश्वकपमा छनोट हुन नेदरल्याण्डको झिनो सम्भावना

एजेन्सी – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ ।

युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्न सके कम्तीमा पनि प्ले अफ खेल्ने सम्भावना जीवितै हुन्छ । तर स्वीडेनविरुद्धको जितले मात्रै नेदरल्याण्ड प्ले अफमा पुग्न सक्दैन । उसले स्वीडेनलाई ७–० भन्दा फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने हुन्छ । जुन अकल्पनीय हुनेछ ।

बेलारुसमा भएको खेलको २५ औँ मिनेटमा नेदरल्याण्ड्सका लागि डेभी प्रोपरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५५ औँ मिनेटमा माक्सिम भोलोड्कोले बराबरी गोल गरेपछि दबाब बढेको थियो । खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका आर्जेन रोबेनलाई बेलारुसका खेलाडी सेर्जेई बालानोभिचले लडाएपछि नेदरल्याड्सले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई गोलमा परिणत गर्दै रोबेनले नेदरल्याड्सलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेल सकिनै लाग्दा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याड्सलाई ३–१ को जित दिलाए ।

यही समूहको अर्को खेलमा फ्रान्सले बुल्गेरियामाथि १–० को कठिन जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । फ्रान्सको महत्वपूर्ण जितमा खेलकमो तेस्रो मिनेटमा ब्लेस म्याथुडीले गरेको गोल नै निर्णायक बन्यो । अब नेदरल्याण्डले बेलारुसँग बुधबार राति खेल्नेछ । यो खेलमा जित निकाले फ्रान्स विश्वकपलाई सोझै छनोट हुनेछ ।

शीर्ष स्थानमा रहेको फ्रान्सको २० र दोस्रो स्थानमा रहेको स्वीडेनको १९ अंक रहेको छ । नौ समूह रहेको युरोपबाट समूह विजेता सिधै विश्वकपका लागि छनोट हुनेछन् । आठ वटा समूहको उपविजेता टोलीले प्ले–अफ खेल्नेछन् । त्यसमध्येबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्