१० बुँदे भन्दै एमालेमा बसेका साथीहरुको हरिबिजोग भयो : माधव नेपाल

काठमाडौं, कातिक ६ ।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति कार्यान्वयन हुने आशमा एमालेमा बसेकाहरुको बिजोग भएको बताएका छन्।

सिन्धुपाल्चोकमा समाजवादी पार्टीले शनिबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेमा बस्नेहरु केपी शर्मा ओलीको आदेशपालक हुनुपर्ने पनि बताएका छन्।

‘एमालेमा ओलीको आदेश पालना गर्ने मात्रै टिक्न सक्छन्। उनीहरुले मात्रै स्याब्बासी र पद पाउँछन्’, नेपालले भने, ‘ओलीको आदेश नमान्दा कति ट्याउँ-ट्याउँ गरेको भनिन्छ। १० बुँदेमा पनि अहिले कति ट्याउँ-ट्याउँ गरेको भन्दैछन्। १० बुँदे कार्यान्वयन हुने आशमा एमालेमा बसेका साथीहरुको कस्तो हरिबिजोग, देख्नु हुँदैछ नि!’

अध्यक्ष नेपालले ओलीले एमालेमा कुनै नेतालाई सम्मान नै नगरेको आरोप पनि लगाए। ‘ओलीले नेताहरुको सम्मान गर्दैनन्। कुनै छलफल पनि गर्दैनन्। त्यहीकारण हामीले विद्रोह गर्‍यौँ’, उनले भने, ‘ओलीसामु त्यहाँ कसैको मान मर्यादा हुँदैन। सम्मान पनि गरिँदैन। ओलीको त्यही व्यवहारका कारण हामी विद्रोह गरेर नयाँ यात्रामा छौँ।’

उनले एमालेको संस्थापक आफैं भएको बताउँदै ओली त्यसबेला कुनै आन्दोलनमा नदेखिएको पनि बताए। ‘२०३१ सालमा को-अर्डिनेशन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा केपी ओलीहरु कहाँ थिए? ०३२ सालको जेठ महिनामा कोअर्डिनेशन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा कहाँ थिए?’, उनले सोधे, ‘त्यसबेला मुकुन्द न्यौपाने र झलनाथ खनाल हामीसँगै हुनुहुन्थ्यो। म यहीँ छु।’

उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिर्जना एमालेले गरेको पनि बताए। ‘मदन भण्डारीको जबजको सिर्जना हामीले गरेका थियौँ, एमालेले गरेको थियो’, उनले भने, ‘केपी ओली एण्ड कम्पनीले गरेको होइन।’

प्रतिक्रिया दिनुहोस्