भारतमा एक अर्ब डोज कोरोनाको खोप लगाइयो, मोदीले दिए ट्वीटर मार्फत बधाई
काठमाडौं, कातिक ४ । भारतमा एक अर्ब डोज कोरोना खोप लगाइएको छ । खोप अभियान सुरु भएको ९ महिनामा भारतले एक अर्ब डोज खोप लगाएको हो ।
भारतमा खोप अभियान गत जनवरी १६ बाट सुरु गरिएको थियो । सुरुमा कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई खोप दिइएको थियो । त्यसपछि ज्येष्ठ नागरिक र १८ देखि ४५ वर्ष उमेर समुहकालाई खोप लगाइएको थियो ।
देशभित्र एक अर्ब डोज खोप लगाउन सफल भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक तथा नर्सहरुलाई बधाई दिएका छन् ।
‘भारतले रच्यो इतिहास । हामी १३० करोड भारतीयको सामूहिक भावनाको विजय भएको देखिरहेका छौं । एक अर्ब खोप पार गरेकोमा भारतलाई बधाई,’ मोदीले ट्वीटर मार्फत भनेका छन् ।
भारत सरकारले सन् २०२१ भित्र एक अर्ब खोप लगाइसक्ने प्रतिबद्धता जनाएको थियो, जुन लक्ष्य उसले दुई महिना अगावै प्राप्त गरेको छ ।
भारतमा खोप लगाएकामध्ये ७० प्रतिशतले हालसम्म एक डोज मात्र खोप लगाएका छन् । खोपको पुर्ण मात्रा ९दुई डोज० लगाउनेको संख्या यसको आधा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्