देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो, घर भत्केकालाई ३ देखि ५ लाखसम्म र मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख

काठमाडौं , कातिक ३ । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । देशभरका विभिन्न ठाउँमा बाढी पहिरो जाँदा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म ५५ जनाको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘‘अन्य तथ्यांक आउँदैछ । अहिलेसम्म मृत्यु हुनेको तथ्यांक ५५ रहेको छ ।”

यता सरकारले गएको तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । त्यसैगरि सरकारले बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । त्यस्तै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्