बझाङ पहिरो: बेपत्ता २३ मध्ये दुईको शव भेटियो, अरुको खोजी जारी

काठमाडौं, कातिक ३। बझाङको थलारा गाउँपालिका–४ डिक्लामा पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ ।थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको हो ।

यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन । पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ । स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी बेपत्ताहरुको खोजतलासमा लागेका छन् ।

थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्