बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा, वर्षाले देशभरको जनजिवन प्रभावित
काठमाडौं , कात्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेका छन् ।
सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो घोषणा गरेका हुन् । उनले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा पनि गरेका हुन् ।
आइतबारबाट लगातार परेको अविर वर्षाले देशभरको जनजिवन प्रभावित भएको छ । तीन दिनदेखि परेको वर्षाले गएको बाढी पहिरोले धेरैको ज्यान गएको छ । धेरै बेपत्ता छन् ।देश विभिन्न सडकहरु अवरुद्ध छन् । नदीमा पानीको बहाब बढेर तराइको विभिन्न स्थानमा डुबानमा छन् ।
वर्षाकै कारण किसानले लगाएको खेतीपाती नष्ट भएको छ । विशेषगरी यति बेला किसानको धानबारीमा क्षति पुगेको छ । कतै काटेको धानमा पानी जमेर भिजाएको छ भने कतै पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढालेको छ ।
यसवर्ष विगतका वर्षमाभन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता छन् ।
प्रधानमन्त्री सुदूरपश्चिम जाने
प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश सुदूरपश्चिम जाने भएका छन्।लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम जाने भएका हुन्।नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने जानकारी दिए।
उनले सुदूरपश्चिममा पुगेको क्षतिका बारेमा जानकारी लिन आफूलाई प्रधानमन्त्रीले बोलाएको र कुराकानीका क्रममा सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा व्यक्त गरेको बताए।
प्रतिक्रिया दिनुहोस्