प्रधानमन्त्री देउवाले भने- एमसीसी परिमार्जन गर्न अमेरिका तयार छ

काठमाडौं, कातिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संशोधन गर्न अमेरिका तयार रहेको जानकारी गराएका छन् ।

आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले एमसीसी ‘करेक्सन’ गर्न आफू तयार रहेको अमेरिकाले बताएको जानकारी दिएका हुन् ।

‘एमसीसी विशुद्ध नेपालको हितमा छ’, बुधबार बिहान सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यही पनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन् । ‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो । ब्याजमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् ।’

एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले खण्डन गरेका छन् । ‘वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ । एडीबी, आईएमएफमा पनि त्यही हो । तिनका जति पनि ऋण छन्, त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ’, देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्