पाकिस्तानीले दिन सक्छन् विश्वकपमा भारतलाई चुनौती

काठमाडौँ , ३ कात्तिक । टी २० विश्वकप सुरु भइसकेको छ र आइतबार भारत तथा पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ । यी दुवै टोलीले एक–एकपटक टी–२० विश्वकप जितिसकेका छन् । तर, विश्वकपमा पाकिस्तानले कहिल्यै पनि भारतलाई हराउन सकेको छैन । दुई टोलीबीचका ५ भिडन्तमा पाँचवटैमा भारत विजयी भएको छ ।

त्यही कारण यसपटक पनि भारत नै विजयी हुने अनुमान धेरैको छ । तर, पाकिस्तानसँग केही त्यस्ता खेलाडी छन्, जसले इतिहास बदल्नसक्छन् । अर्थात्, पाकिस्तानलाई विश्वकपमा भारतविरुद्ध पहिलो जित दिलाउन सक्छन् । विशेषगरी, यसपटक बाबर आजम र मोहम्मद रिजवानको जोडीसँग पाकिस्तानी समर्थकहरूलाई धेरै आशा छ । यी दुईले आफ्नो टोलीलाई जित दिलाउने क्रममा धेरै म्याचमा निर्णायक साझेदारी गरेका छन् ।

यी दुवै खेलाडीहरूले आपसी साझेदारीमा टी–२० क्रिकेटमा ५७ को औसतमा ७ सय ३६ रन बनाएका छन् । यस क्रममा दुवैले तीनपटक शतकीय र दुईपटक अर्धशतकीय साझेदारी गरेका छन् । एकपटक त उनीहरूले १ सय ९७ रनको साझेदारी गरे । त्यसैकारण उनीहरूप्रति पाकिस्तानको ठुलो आशा छ । यता, भारतबाट शिखर धवन र पृथ्वी शको जोडीले अहिलेसम्म साझेदारीमा ७ सय १२ रन बनाएको छ । त्यसैगरी लोकेश राहुल र मयंक अग्रवालले मिलेर ६ सयभन्दा धेरै रन बनाएका छन् । तर, यसपटक मयंक अग्रवाल भारतीय टिमको हिस्सा छैनन् ।

प्रतिक्रिया दिनुहोस्