बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन
काठमाडौँ , ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता(एसएसपी) वसन्त कुँवरले बताए ।
वर्षाका कारण प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले जानकारी दिए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्