सुदूरपश्चिममा बाढी : धान खेतमै डुब्यो , किसान चिन्तामा , ३ जनाले ज्यान गुमाए, २३ जना बेपत्ता

काठमाडौं, कात्तिक २ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । यता र्षाका कारण सुदूरपश्चिममा ३ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै ६ जनाको घर भत्किएको छ। वर्षाकै कारण पहाडी ७ जिल्लामै विद्युत तथा सञ्चार सेवा अवरुद्ध बनेको छ। २ दिनदेखि भइरहेको वर्षाका कारण तराईका २ जिल्ला डुबानमा परेका छन्।उता बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना रहेका छन् ।

पहिरोका कारण थलाराका दुई गाँउका स्थानीय विस्थापित भएका छन भने ७ घर पुरिएका छन । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा टेलीफोन अबरुद्ध भएका कारण थप जानकारी लिन समस्या भएको छ ।

यसैगरि सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्।

केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्