सात जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं, असोज ३१ ।  सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।

सप्तरी, सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ लादेस्थित सडकमा प्रदेश ०२-००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका-११ बस्ने १८ वर्षीय शुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, टिकापुर नगरपालिका-५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका-१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ।

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ लामिबगरस्थित सडकमा ना.१ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका-१६ गोदाबारी बस्ने ६२ वर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सुमो चालक सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका-५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सन्दिप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था गम्भीर रहेको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

बाँके, खजुरा गाउँपालिका-३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका-४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नसिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्