सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्यो चहलपहल
काठमाडौं, असोज ३० । । काठमाडौं उपत्यकामा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ । टीकाको आज दोस्रो दिनको हो ।
मान्यजनको हातबाट टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।दसैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ सुनसान बनेको थियो। दसैँ मनाउने करिब ९ लाखको सङ्ख्यामा मानिसहरू बाहिरिएपछि काठमाडौँ सुनसान बनेको हो ।
विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आफन्तहरुबाट आशिर्वाद लिने चलन छ ।
आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।
असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्